आर्थिक वर्ष २०७९/८० मा करिब ५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आइपुग्दा २१ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो। कम्पनीले च्याउ उत्पादनसँगै बीउ उत्पादनको क्षमता विस्तार गरेपछि कारोबारमा उल्लेख्य वृद्धि भएको जनाएको छ।
रुपन्देहीको तिलोत्तमा–१६ मा रहेको कम्पनीले च्याउको बीउ उत्पादन, च्याउ उत्पादन तथा वितरणलाई मुख्य व्यवसायका रूपमा अघि बढाएको छ। खाद्य तथा औषधीय प्रयोजनमा प्रयोग हुने विभिन्न प्रजातिका च्याउका बीउसमेत कम्पनीले उत्पादन गर्दै आएको छ।
कम्पनीले आधुनिक प्रविधिमा आधारित वातावरण नियन्त्रित उत्पादन गृह प्रयोग गरी व्यावसायिक रूपमा च्याउ उत्पादन गर्दै आएको छ। विशेषगरी बटन च्याउ (डल्ले च्याउ) उत्पादनमा यस्तो प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ। हाल कम्पनीले आफ्नै स्वामित्वको करिब १० बिघा जग्गामा च्याउ उत्पादन विस्तार गरेको छ।
सञ्चालक सीपी शर्माका अनुसार कम्पनीसँग दैनिक ४ टनसम्म च्याउको बीउ उत्पादन गर्न सक्ने क्षमता छ। हाल करिब २ टन बीउ दैनिक उत्पादन भइरहेको छ। त्यस्तै, कम्पनीसँग दैनिक ४ टनसम्म च्याउ उत्पादन गर्न सक्ने क्षमता रहेकोमा हाल करिब २ टन उत्पादन भइरहेको छ।
कम्पनीले नेपालमा उत्पादित बटन च्याउमध्ये करिब ५० प्रतिशत हिस्सा आफ्नो रहेको दाबी गरेको छ। च्याउको बजार माग उत्पादनको तुलनामा उच्च रहेकाले व्यावसायिक विस्तारको सम्भावना अझै रहेको कम्पनीको भनाइ छ।
ओएन बायोटेकबाट बीउ लिएर स्थानीय तहका विभिन्न किसानले समेत व्यावसायिक रूपमा च्याउ उत्पादन गर्दै आएका छन्। कम्पनीले च्याउ उत्पादनका लागि आवश्यक कम्पोस्ट मलको उत्पादनलाई समेत विस्तार गर्ने योजना अघि सारेको छ।
कम्पनीका अनुसार च्याउ उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमध्ये करिब ९० प्रतिशत नेपालमै उपलब्ध सामग्री प्रयोग हुन्छ। कुखुराको मल, घाँस, गहुँको पराललगायत स्थानीय कृषिजन्य अवशेषलाई उत्पादन प्रक्रियामा प्रयोग गरिने शर्माले बताए। यसबाट स्थानीय कृषकलाई समेत बजार सिर्जना भएको कम्पनीको भनाइ छ।
कम्पनीमा हाल २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब २ हजार जना अप्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएको बताइएको छ।
कम्पनीले आगामी आर्थिक वर्षमा कारोबारलाई थप विस्तार गरी करिब ४० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ। पछिल्लो समय रुपन्देहीसँगै काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, इटहरी, दाङ, नवलपरासी, पाल्पालगायत जिल्लामा समेत च्याउ उत्पादन विस्तार हुँदै गएको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।