लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा

Sep 16, 2026 10:33 AM Merolagani



नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले असोज २२ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १४ गते बुकक्लोज गर्दैछ। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।